बंगलादेशमा नेपाली विद्यार्थी असुरक्षित

बंगलादेशमा नेपाली विद्यार्थी असुरक्षित

१०१ नेपाली विद्यार्थी भारतीय राज्य मेघालय प्रवेश


काठमाण्डु-बङ्गलादेशमा विद्यार्थी र प्रहरी बीचको झडप हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गरेका छन् ।

सरकारी जागिरमा गरिएको आरक्षणको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेको छ । चर्को प्रदर्शन र हिंसाका कारण बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरु विस्थापित हुन थालेका छन् ।

अध्ययनका लागि बङ्गलादेशमा पुगेका विद्यार्थीहरू प्रदर्शन हिंसात्मक हुन थालेपछि भारतको मेघालय राज्य जान थालेका हुन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार अहिलेसम्म विभिन्न देशका २०२ जना विद्यार्थी भारतको मेघालय प्रवेश गरेका छन् । भारत सरकारले विद्यार्थीको सुरक्षाको प्रबन्ध गरेको समाचारमा उल्लेख छ । बङ्गलादेशको सीमा पार गरेर भारत प्रवेश गर्नेमा नेपालका १ सय १ जना छन् ।

भुटानका ७, भारतका २३ र अन्य ४ जना पर्यटक भएको भारतीय प्रहरीले जनाएको छ । नेपाली विद्यार्थीले बङ्गलादेशमा छोडेर भारत आएको नेपाली अधिकारीहरुले भने पुष्टि गरेका छैनन् ।

आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले ढाकामा इन्टरनेट र फोन लाइन सेवा बन्द गरेको छ ।

पछिल्लो आन्दोलनमा विदेशी विद्यार्थीहरू हताहत भएका छैनन् । तर अधिकारीहरूले बङ्गलादेश सरकारले विभिन्न कलेज र विश्वविद्यालयका छात्रावासबाट बङ्गलादेशी विद्यार्थीहरूलाई बाहिर पठाएको र त्यहाँ अब विदेशी विद्यार्थीहरू मात्रै बाँकी रहेका जनाएका छन् ।

बङ्गलादेशका विभिन्न सहरहरूमा झन्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा धेरै एमबीबीएस अध्ययन गर्न आउने विद्यार्थीहरू छन् । त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बङ्गलादेशमा छन् । सिलेट, चिटगोङ्ग तथा रङ्गपुरसहितका सहरहरूमा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।

ढाकास्थित नेपाली राजदूतावासले बाङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः +८८०१८०६९१०१३ र +८८०१७४५४०७९५८ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।