महाभारतको शान्ति पर्वमा भनिएको छ, ‘धननाश भएमा केही छैन, पुनः प्राप्ति हुन सक्छ । यस्तै अरू कतिपय चीज नाश भएमा पनि फेरि पाउन सकिन्छ तर इतिहास नाश भएमा सर्वनाश हुन्छ, अपूरणीय क्षति हुन्छ ।’ त्यसैले इतिहासलाई हामी सबैले सम्मान गर्नै पर्छ । हिजोले आज देखायो, आजले भोलिको मार्गप्रशस्त गर्छ । हिजोलाई सम्झनु भनेको पितृलाई सम्मान गर्नु हो । यस पृष्ठभूमिमा नेपालको वाणिज्यशास्त्र शिक्षाको थालनी, विकास र आजको स्थितिमा ल्याउन अनवरत अथकित परिश्रम गर्ने केही सारथिहरूलाई श्रद्धासुमन व्यक्त गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो ।
पाश्चात्य शिक्षाको प्रारम्भ हुनुपूर्व नै नेपाल शिक्षाको केन्द्र थियो । तसर्थ नेपाली शिक्षित भएका अनेकौँ प्रमाण पाइन्छन् । नेपालीहरू उच्च शिक्षा हासिल गर्न नालन्दा र विक्रमशिला विश्वविद्यालयमा अध्ययन गर्न पुग्थे । नेपाली पण्डित वागिश्वर विक्रमशिलाका अध्यापक थिए भने पण्डित रत्नाकर कनकश्री पनि उल्लेख्य विद्वानमा गणना हुन्थे । प्राचीन नेपालमा धार्मिक संस्थाद्वारा शिक्षालय सञ्चालन हुने गरेका थिए । बौद्ध विहारका भिक्षुहरूलाई बौद्ध धर्मको सिद्धान्त र आदर्श अनुसरणको शिक्षा दिइन्थ्यो ।
हिन्दू धर्मावलम्बीहरूमा गुरुकुल परम्परा कायम थियो । प्राचीनकालमा पण्डितहरू दरबारमा रहेर शिक्षादीक्षा प्रदान गर्दथे । प्रत्येक गाउँमा गुरुकुल परम्परामा आधारित शिक्षा दिने गरिन्थ्यो । हिन्दुस्तानका वाराणसीजस्ता शिक्षा केन्द्रबाट शिक्षित भएका युवाहरूले मोफसलमा समेत शिक्षालयहरू खोलेका थिए ।
अङ्ग्र्रेजसँग सम्पर्क भएपछि नचाहँदा नचाहँदै पनि अङ्ग्रेजी शिक्षाको प्रभाव नेपालमा पनि प¥यो । सुगौली सन्धिपश्चात् सरकारी कामकाजका लागि पनि अङ्ग्रेजी भाषामा दख्खल भएका जनशक्तिको खाँचो पर्न थाल्यो । जङ्गबहादुर राणाको अभ्युदय र नेपाल–अङ्ग्र्रेजको सम्बन्धले गति लिएपछि १९१० मा राणाखलक र भाइभारदारका सन्तानलाई पढाउन एक विद्यालय स्थापना गरियो, जसले पछि दरबार स्कूलको नामले प्रसिद्धि पायो । चन्द्रशमशेरको बेलायत भ्रमण, प्रथम विश्वयुद्ध र अङ्ग्रेजी शिक्षाको बढ्दो चाहना जस्ता कारणबाट सन् १८७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भयो । सुरुमा आइए र आइएस्सी तहको शैक्षिक कार्यक्रम सञ्चालन हुँदै गएकामा सन् १८८२ सालमा बिए तहको स्तर वृद्धि भयो । त्रिचन्द्रमा विज्ञान र कलाको मात्र शैक्षिक कार्यक्रम सञ्चालन हुँदै गएकामा २००७ सालको परिवर्तनपश्चात् मात्र २०११ भदौ १७ गते वाणिज्यशास्त्रको अध्ययन–अध्यापन पनि त्रिचन्द्र कलेजमा प्रारम्भ भयो । यो पठनपाठन प्रारम्भ भएको उद्घाटन विसं २०११ फागुन २० गते अधिराजकुमार हिमालय वीरविक्रम शाहबाट भएको थियो ।
नेपालमा वाणिज्यशास्त्रको शिक्षालाई व्यापार–व्यवसायसँग जोडेर हेर्ने तत्कालीन मनस्थितिको कारण यसप्रति समाजमा रुचि नदेखिएको हो । डा. रामप्रसाद राजवाहक ‘छोरो बिग्रने भयो भने कमर्स र छोरी बिग्रने भए भने नर्स पढ्छन्’ भन्ने तत्कालीन मानसिकता भएको चर्चा गर्नुहुन्थ्यो । यसैगरी, आइकम, बिकम पढ्नुपर्छभन्दा ‘के हो यो कम ? पढ्नु परे कम किन पढ्ने ? पढाइ त बढ्दै पो जानुपर्छ त’ भन्ने गरेको संस्मरण नेपालका वाणिज्य शिक्षाका भीष्मपितामह ईश्वरीलाल श्रेष्ठले गरेका छन् ।
विसं २००८ मा त्रिचन्द्र क्याम्पसमा वाणिज्यशास्त्रको पठनपाठन प्रारम्भ भयो । धेरै कालसम्म वाणिज्यशास्त्रको पठनपाठन गर्ने यो नै एक मात्र कलेज हुनपुग्यो । प्रारम्भमा यो विषय पढाउन हिन्दुस्तानबाटै शिक्षक आउँथे भने कालन्तरमा नेपालीहरू नै प्राध्यापक बने । ईश्वरीलाल श्रेष्ठ डा. रामप्रसाद राजवाहक, कृतेन्द्रकुमार मल्ल आदि यस विषयका शिक्षक थिए । नेपाली र अङ्ग्रेजी विषयका प्राध्यापकहरू भने कला (आर्टस) सङ्कायका थिए । विसं २०२१ मा क्षेत्रपाटी धोबिचौरमा पब्लिक कमर्स कलेज खुल्यो, जसको संस्थापक गोपालमान श्रेष्ठ थिए । यस कलेजको प्रारम्भका दिनमा संस्थापक प्राचार्य गोपालमान श्रेष्ठलगायत ऐश्वर्यलाल प्रधानाङ्ग, खेमरञ्जन बराल, कोरण प्याकुरेल, रामकिंकरलाल दास आदि प्राध्यापकहरू संलग्न थिए ।
विसं २०३१ मा नै पाटनढोकामा गेहेन्द्रबहादुर राजभण्डारीको प्रयासमा नेपाल कमर्स क्याम्पसको स्थापना भयो । यस कलेजमा केशवप्रसाद प्रधान, पृथुराज श्रेष्ठ, तेजलाल नकर्मीलगायतको प्राध्यापनमा उल्लेख्य भूमिका थियो । यसैगरी, २०३० सालपूर्व काठमाडौँकै महेन्द्ररत्न जस्ता कलेजमा पनि आइकम पढाइ सुरु भयो । विसं २००९ मा स्थापना भएको ठाकुरराम कलेजमा २०१८ सालमा आइकम र २०२० सालदेखि बिकमको पठनपाठन सुरु भयो । यस कलेजको वाणिज्यशास्त्रको शिक्षकका रूपमा रामकिंकरलाल दास, अनन्तलाल कर्ण, मोहनप्रसाद उपाध्यायको आदिले विशेष योगदान दिएका थिए । विसं २०१४ मा जनकपुरमा स्थापना भएको रामस्वरूपमा २०२६ देखि वाणिज्यशास्त्रको पठनपाठन सुरु भयो ।
यसैगरी, २०१७ सालमा पोखरामा स्थापना भएको पृथ्वीनारायण कलेजमा पनि वाणिज्यशास्त्र अध्यापन हुने गर्दथ्यो । शिवपूजन यादव, गणेशमान पालिखे जस्ता प्राध्यापकले यस कलेजमा उल्लेख्य सेवा गरेका थिए । विसं २०११ मा पाल्पा तानसेनमा स्थापना भएको त्रिभुवन क्याम्पसमा २०१८ सालदेखि वाणिज्यशास्त्र पठनपाठन सुरु भयो । प्रारम्भमा भारतीय प्राध्यापकहरूबाट पठनपाठन सुरु भएकामा कालान्तरमा स्थानीय कृष्णनारायण श्रेष्ठ, धीरेन्द्रप्रसाद श्रेष्ठ, विनोदप्रसाद श्रेष्ठ, विष्णुप्रसाद शर्माजस्ता व्यक्तिको उल्लेख्य योगदान थियो । धेरै कालसम्म वाणिज्य शिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने यसै कलेजका विद्यार्थीहरू नै भए ।
विसं २०१२ मा स्थापना भएको विराटनगरस्थित मोरङ कलेजमा २०१३ सालदेखि नै वाणिज्यशास्त्रको अध्ययन–अध्यापन सुरु भएको थियो । यस कलेजमा पनि अन्यत्रका कलेज जस्तै भारतीय प्राध्यापकहरूकै बाहुल्य थियो । यस कलेजको वाणिज्य शिक्षाको उन्नयनका लागि अखिलेश्वरीप्रसाद, शिवमगन गुरुङ आदिको विशेष योगदान रह्यो । विसं २०१२ मा नै धरानमा स्थापना भएको महेन्द्र कलेजमा आरपी चौधरीको नाम श्रद्धापूर्वक लिनै पर्दछ ।
उच्च शिक्षामा २०३० सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू हुनुपूर्व महेन्द्र मोरङ कलेज विराटनगर, ठाकुरराम कलेज वीरगञ्ज, रामस्वरूप रामसागर कलेज जनकपुर तथा उपत्यकाका त्रिचन्द्र कलेज, पब्लिक कमर्स कलेज र नेपाल कमर्स कलेजमा वाणिज्यशास्त्रमा स्नातकसम्मको कक्षा सञ्चालनमा आएको थियो । यसैगरी, धरान, विराटनगर, पाल्पा तथा पोखरामा पनि स्नातक तहका कार्यक्रम सञ्चालित थिए । प्रारम्भमा यी सबै कलेज पटना विश्वविद्यालयमा आबद्ध थिए भने २०१६ सालपछि त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि यसै विश्वविद्यालयसँग आबद्ध हुन पुगे । २०१८–÷१९ सालदेखि स्नातकोत्तर तहको पढाइ त्रिभुवन विश्वविद्यालय कलेजमा सुरु भयो । प्रारम्भमा यो कक्षा पनि त्रिचन्द्रमा नै हुन्थ्यो ।
२०३० पश्चात् वाणिज्यशास्त्रको शिक्षाले ठूलो फड्को मा¥यो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यापार प्रशासन, वाणिज्यशास्त्र तथा जनप्रशासन अध्ययन संस्थानको स्थापना भई मुलुकभरका वाणिज्य शिक्षाको पठनपाठन गराउने कलेज क्याम्पसमा परिणत भई सोही अध्ययन संस्थानअन्तर्गत रहे । यस अध्ययन संस्थानअन्तर्गत व्यापार प्रशासन वाणिज्यशास्त्रतर्फ प्रमाणपत्र स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम र जनप्रशासनतर्फ स्नातक तहको कार्यक्रम सञ्चालित भए । कालान्तरमा जनप्रशासनको स्नातक तह खारेज भई स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन हुन थाल्यो ।
२०३० पछि यस अध्ययन संस्थानतर्फ स्नातक तह र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रममा अघिल्लो तहको कुनै पनि विषयमा उत्तीर्ण भएका विद्यार्थीहरूले भर्ना हुन पाउने व्यवस्थाले गर्दा विद्यार्थी सङ्ख्यामा अभूतपूर्व रूपमा वृद्धि हुन थाल्यो । राजधानी र मोफोसलमा पनि यो शिक्षाको माग बढ्दै जाँदा कुनै बेला त विद्यार्थी सङ्ख्या र खर्चको हिसाबले पनि यही अध्ययन संस्थान अब्बल ठहरियो । विसं २०३३ मा काठमाडौँबाहिर महेन्द्र मोरङमा (हाल स्नातकोत्तर क्याम्पस)मा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन भयो । विसं २०३४ तिर नै पोखरा, धरान, जनकपुर, नेपालगञ्जमा पनि स्नातक तह खुले । विसं २०३८ मा यो अध्ययन संस्थान व्यवस्थापन अध्ययन संस्थानमा परिणत भई हाल व्यवस्थापन सङ्कायका रूपमा रहेको छ ।
नेपालमा बहुविश्वविद्यालयको अवधारणापश्चात् खुलेका सबै विश्वविद्यालयले व्यवस्थापन शिक्षामा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सर्वाधिक प्राथमिकता दिए । व्यवस्थापन शिक्षाअन्तर्गत हाल मुलुकमा बिबिए, बिबिएएफ, बिआइएम, बिटिटिएम, एमएचएम, बिबिएम, एमबिए, इएमबिएजस्ता शैक्षिक कार्यक्रमहरू विभिन्न विश्वविद्यालयले सञ्चालन गर्दै आएका छन् । आज यस विषयको उच्च शिक्षामा पहुँच मोफसलमा पनि पुगेको छ । यो शिक्षा प्राप्त गर्नेहरू मुलुकको उच्चस्तरीय जनशक्ति हुन पुगेका छ भने यो शिक्षा आर्जन गर्ने विदेशमा पनि प्रतिष्ठित हुन पुगेका छन् । विविध दृष्टिले वर्तमान नेपालको सन्दर्भमा व्यवस्थापन शिक्षा नै सर्वाधिक प्राथमिकतामा परेको र स्वदेश तथा विदेशमा पनि रोजगारीका प्रशस्त सम्भावना रहेको देखिन्छ ।
व्यवस्थापन शिक्षालाई आजको स्थितिमा पु¥याउने दिवङ्गत प्राध्यापकहरूको स्मरण गर्न भदौ १७ गते वाणिज्य दिवस मनाउन थालिएको हो । नेपालमा यस शिक्षामा अमूल्य योगदान दिनुहुने दिवङ्गत ईश्वरीलाल श्रेष्ठको योगदान सर्वाधिक महत्वपूर्ण छ । त्रिचन्द्र कलेजमा वाणिज्य शिक्षाका संस्थापक नै उनै थिए । नेपालमा वाणिज्यशास्त्र ‘आइसल्यान्डको सर्प’ भएकै अवस्थामा पठनपाठन गराउने श्रेय पनि उनैलाई जान्छ । कालान्तरमा नेपाल सरकारका सचिव तथा अन्य विभिन्न पदमा रही कार्य गरे पनि उनलाई लोकले आज पनि प्राध्यापककै रूपमा स्मरण गरेको छ । यसैगरी, गोपालमान श्रेष्ठ, कृतेन्द्रकुमार मल्ल, डा रामप्रसाद राजवाहक, उपेन्द्रबहादुर प्रधानाङ्ग, मोहनप्रसाद उपाध्याय, ऐश्वर्यलाल प्रधानाङ्ग, सुरेन्द्रबहादुर वैद्य, विद्यामान शाक्य, नीलकण्ठलाल श्रेष्ठ, अन्जिरमान प्रधान, अनन्तलाल कर्ण, शिवमगन गुरुङ गणेशमान पालिखे, शिवपूजन यादव, धीरेन्द्रप्रसाद श्रेष्ठ, उमाशङ्कर अग्रवाल, जगन्नाथलाल दास, रामेश्वरप्रसाद चौधरी, माणिकलाल प्रधान, पृथ्वीराज श्रेष्ठ, गेहेन्द्रबहादुर राजभण्डारीलगायत व्यक्तित्वले वाणिज्य शिक्षाको उन्नयन तथा विस्तारमा गरेको योगदानको गुन बिर्सन हुँदैन । यिनै महारथीहरूको परिश्रम तथा योगदानबाट वाणिज्य शिक्षाले फड्को मारेको हो भन्ने ऐतिहासिक तथ्य पनि बिर्सन हुँदैन । नेपालमा वाणिज्यशास्त्र शिक्षाको उन्नयन र विस्तारमा उल्लेख्य योगदान दिने शिक्षकहरूको परिचय नयाँ पुस्तालाई दिलाउन पनि हिजोका यी सारथिहरूको सम्झना गर्नै पर्दछ ।
प्रतिक्रिया