काठमाण्डु – लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच ललितपुर र मकवानपुरस्थित बागमती नदीमा निर्माण हुने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनाको कूल लागत ९.२८ अर्ब छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।
सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पत्र लिई २०८० असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ । कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एएनके कन्सट्रक्सन रहेका छन् ।
परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक/संस्थापकहरूको लगानी छ । परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिबद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सहअगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब लगानी रहेको बैंकले जनाएको छ ।
आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करीब २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुका साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रूपमा रहने विश्वास बैंकको छ ।
प्रतिक्रिया