काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ ।
ग्लोबल आईएमई बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।
बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघसंस्थासँगको सहकार्यमा १८ हजार वृक्षरोपण गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न विरुवा रोपण गरी अभियानको शुभारम्भ गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षारोपण कार्यक्रम चालू आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार विरुवाहरू रोपण गर्ने जानकारी दिए ।
‘रुखविरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो । वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाइराख्न, पहिरो रोक्न, पानीको स्रोत जोगाउन सहयोग पुर्याउँछ,’ उनले भने ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया