ग्लोबल आईएमई बैंक र आईएफसीबीच एड्भाइजरी सेवा सम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र आईएफसीबीच एड्भाइजरी सेवा सम्बन्धी सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार विश्व बैंक समूह अन्तर्गत रहेको आईएफसीले ग्लोबल आईएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।

आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।

समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रूपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आईएमई बैंकले आफ्नो ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ–नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।

उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशमा निजी क्षेत्रको प्रवद्र्धन र विकास, आर्थिक वृद्धि र गरीबी न्यूनीकरणमा काम गरिरहेको बैंकले जनाएको छ ।