काठमाण्डु– भारतबाट एक वर्षको अवधिमा ४२ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ को अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिए ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको हो ।
सशस्त्र प्रहरीले वीरगन्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख ६ हजार ४८७ मूल्यका भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरी, सोही अवधिमा १३ करोड ८१ लाख २५ हजार २२० मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।
प्रतिक्रिया