बर्दिबास नगरपालिकामा सर्पदंशको निःशुल्क उपचार

बर्दिबास नगरपालिकामा सर्पदंशको निःशुल्क उपचार


काठमाण्डु-महोत्तरीको बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।

बर्दिबास-३, गौरीडाँडामा १० वर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालित छ । शुक्रबार केन्द्रमा पुगेर बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले चालु आर्थिक वर्षमा सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

यसका लागि नगरपालिकाले चार लाख रुपियाँ उपलब्ध गराउने उनले बताए । यो सहयोगले बर्दिबास नगर क्षेत्रका १४ वटै वडाबाट भर्ना भएका सर्पदंशका बिरामीको निःशुल्क उपचारमा पर्याप्त हुने दाबी उनले गरे ।

केन्द्रले सर्पले टोकेका बिरामीको उपचार गर्दा जनही दुई हजार र बिच्छी तथा खजुरोले टोकेर आएका बिरामीसँग एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ । केन्द्रमा नेपाली सेनाका छ जना जनशक्तिले उपचार सेवा दिँदै आएका छन् ।

२०७१ मा स्थानीयको पहलमा स्थापना भएको यो केन्द्रमा अहिलेसम्म सर्पदंशका ३१ हजार बिरामीले उपचार गराइसकेका छन् ।

सर्पले टोकेका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम केन्द्रलाई स्वास्थ्य विभागको इपिडिमियोिलोजी शाखा काठमाडौँले निःशुल्क उपलब्ध गराउँदै आएको छ । बाँकी ४७ प्रकारका औषधी भने केन्द्र आफैँले किन्नु पर्छ । एन्टीस्नेक भेनमबाहेक एउटा सर्पदंशका बिरामीलाई तीनदेखि पाँच हजार रुपियाँसम्मको अन्य औषधी लाग्ने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रमा भारतको सीतामढीसम्मका बिरामीसमेत उपचारको लागि आउने गरेका छन् । त्यसैगरी महोत्तरी, सर्लाही, धनुषा, सिराहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गासम्मका सर्पदंशका बिरामी केन्द्रमा उपचारको लागि आउने गरेका छन्।