काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निम्तो दिएका छन् ।
बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भएको भर्चुअल संवादमा काठमाण्डुमा आयोजना हुने सम्मेलनमा सहभागी हुन निम्तो दिइएको छ ।
संवादका क्रममा अर्थमन्त्री पुनले औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समितिको अध्यक्षका हैसियतले व्यक्तिगत रूपमा पनि निम्तो दिएका छन् ।
जवाफमा उपाध्यक्ष मार्टिनले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताएका जनाइएको छ ।
लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराएका थिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैंकसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया