उपमहासचिव पुनको खुलासा : कांग्रेस नेताहरू ओलीलाई हटाउन माओवादीसँग मिल्न खोज्दैछन्

उपमहासचिव पुनको खुलासा : कांग्रेस नेताहरू ओलीलाई हटाउन माओवादीसँग मिल्न खोज्दैछन्


काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस नेताहरूले माओवादीसँग मिल्न खोजेको खुलासा गरेका छन् ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।

उनले भने, ‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अब कम्युनिस्टहरू मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिञ्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरू विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौं तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं । यो हाम्रो प्रतिबद्धता हो ।’

पूर्वअर्थमन्त्री समेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताएका छन् ।