रोल्पा- उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक वर्ष भित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उदघाट्न गर्दै मन्त्री पुनले एक वर्षभित्र रोल्पाका सवै क्षेत्रमा उज्यालो बनाउने बताएका हुन् ।
मन्त्री पुनले भने ‘ स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गरेका छौं । ’
उनले रोल्पाको लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेको बताए ।
नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पुनले हरेक वडामा विद्युत विस्तार गर्ने गरी चालू आवमा २९ करोड रुपैयाँको टेण्डर भइसकेको जानकारी दिए । उनले थप ३२ करोड रुपैयाँको अर्को टेण्डर गर्नेगरी प्रक्रिया अगाडि बढेको बताए।
उर्जामन्त्री पुनले रोल्पामा सुन, तामा तथा मार्वलका खानीसमेत रहेकाले निजी क्षेत्रको लगानीमा उत्खनन्को प्रक्रिया पनि अघि बढाइने जानकारी दिए । जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिरमा वैकल्पिक ऊर्जाको रुपमा सौर्य उर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको मन्त्री पुनको भनाई थियो ।
प्रतिक्रिया