उर्जा मन्त्रालयको जिम्मेवारी बर्षमानको कांधमा

उर्जा मन्त्रालयको जिम्मेवारी बर्षमानको कांधमा


काठमाडौं– गृहमन्त्रीसहित सरकारको नेतृत्वको दावि गरेका माओवादी नेता वर्षमान पुन अनन्तले उर्जा तथा जलस्रोत मन्त्रालएको जिम्मेवारी पाएका छन् । २०६४ को संविधानसभा निर्वाचनमा ललितपुरबाट विजयी अनन्त २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट विजयी बने । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा २०६३ माघ २३ मा दुई महिना शान्ति तथा पुनःनिर्माणमन्त्री बनेका थिए ।

२०६८ भदौ १२ मा बनेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । तर, उनले पूर्ण बजेट ल्याउन पाएका थिएनन् । अनन्त ५ वर्ष यता मन्त्री बनेका छैनन् । जनयुद्धकालमा उनले संकटपूर्ण अवस्थामा उपत्यका, पूर्वी क्षेत्रमा नेतृत्व गर्दै माओवादी आन्दोलन विस्तार गरेका थिए । उनी प्रचण्डको हरेक अप्ठ्यारोमा काँध थापेका क्षमतावान नेता हुन् र प्रचण्डको मुख्य विश्वास पात्र हुन् ।

अर्थमन्त्री रहेको बेला अनन्तले सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीबाट ल्याउने कोशिस गरेका थिए । नेपालले वैदेशिक ऋण विश्व बैंक र एशियाली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, यूरोपियन यूनियन, जापान, कुबेती फण्ड, साउदी फण्डलगायतका नयाँ माध्याम, नयाँ ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरेको जस उनलाई नै जान्छ ।

उनले २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गरे । काठमाडौंको सडक विस्तारका लागि चार अर्ब बजेट अभाव हुँदा अनन्तले त्यो बजेटको व्यवस्था गरे र काठमाडौंको सडक चौडा भयो । ‘आज यो फराकिलो सडकमा हिंड्दा मलाई खुशी लाग्छ’, सडक विस्तारका लागि बजेट व्यवस्था गरेका अनन्तले भन्ने गरेका छन् ।

अर्थक्षेत्रको कुनै अनुभव नभएपनि मन्त्रालयको जिम्मेवारी भने उनले कुशलतापुर्वक पुरा गरेको अर्थविज्ञहरु नै बताउने गर्छन् ।