रोल्पा– माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले एमालेसंग पार्टी एकताको सम्भावना गर्न सकिने बताएका छन् । माओवादी केन्द्र र एमालेबीच आगामी प्रदेश र संघको निर्वाचनमा सहकार्य हुन सक्ने अड्कालबाजी भइरहदा नेता अनन्तले चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सहज हुने बताएका हुन् ।
माओवादीको समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकार ढाल्न सुत्रधारको रुपमा भुमिका खेल्ने माओवादी नेता अनन्तले एमाले र माओवादीको राजनीतिक लाइन र कार्यदिशा समान भएको भन्दै पार्टी एकताको सम्भावना रहेको दाबी गरेका हुन ।
पुर्व अर्थमन्त्री समेत रहेका अनन्तले आइतबार रोल्पाको लिवाङमा संचारकर्मीहरुसंग कुरा गर्दै नेपालमा निकट भविष्यमा दुई पार्टी मात्र अस्तित्वमा रहने भविष्यवाणी समेत गरेका छन् । उनले पार्टी एकतामा जोड दिदै नेपालमा मजदुर र पुजीपति वर्गको समर्थनमा फरक दुई विचार बोक्ने पार्टी मात्र रहने बताए ।
नेता अनन्तले प्रमुख दलहरु कांग्रेस,एमाले र माओवादी केन्द्रकोबीचमा तालमेलको सम्भावना भने नरहेको बताए । उनले कुनै पनि प्रदेशमा कुनै पनि पार्टीसंग तलदेखी माथीसम्म तालमेल नहुने समेत स्पष्ट पारे ।
अनन्तले माओवादी आगामी निर्वाचनमा निर्णायक शक्तिका रुपमा देखा पर्ने दाबी समेत गरे । त्यसका लागी माओवादी केन्द्रसंग आर्थीक विकासका ऐजेण्डा भएको उनको भनाई थियो ।
माओवादी नेता पुन रोल्पाबाट निर्वाचन लड्ने तयारीमा छन् ।
प्रतिक्रिया