तराईमा आतंक मच्चाउने बारुद्ध प्रहरी नियन्त्रणमा

तराईमा आतंक मच्चाउने बारुद्ध प्रहरी नियन्त्रणमा


काठमाडौं – चुनावपछि तराईमा डाँका आतंकको करिब करिब अन्त्य भएको छ । जति राजनीति स्थायीतिर लम्किन्छ त्यति मधेसतिर शान्ति छाउन थाल्छ । तर, अपराधको दुनियाँमा रमाउनले केही न केही गरेकै थिए । कोही गोइतका नाममा कोही ज्वालाका नाममा अपराधलाई राजनीतिकरण गरिरहेका थिए ।

अहिले त्यो क्रम विस्तारै शुन्यमा झार्न प्रहरी सक्रिय छ । तराईको एउटा ठूलो आतंक बनेको अपराधमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी अझ मत्थर बनाएको छ । डरलाग्दो उपनाम राख्ने अभियुक्तले अब जेल बस्नुपर्ने भएको छ ।

तराई–मधेशका विभिन्न जिल्लामा हत्या, अपहरण, फिरौती, बम बिस्फोट तथा जवर्जस्ती असुली उठाएर आतंक मच्चाईरहेका बारूद सिंह भनिने सुरेन्द्र यादवलाई वीरगञ्जमा पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको बिशेष टोलीले यादवलाई पक्रेको हो । ब्युरोका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)मा आवद्ध रहेका यादवले पछिल्लो समय आफ्नै समूह बनाएर आपराधीक क्रियाकलाप गरिरहेका थिए ।

यादव सर्लाहीमा अपहरणपछि हत्या र गोली हानी हत्या सम्बन्धी घटनाका मुख्य आरोपी हुन् । यस्तै सिरहामा समेत उनीबिरूद्ध हत्या, फिरौती र अपहरण तथा बम बिस्फोट सम्बन्धी मुद्दा दर्ता भएका छन् । ब्युरोका एसपी जीवन श्रेष्ठले यादवलाई आईतबार नै सर्लाही प्रहरीको जिम्मा लगाईएको बताए ।

उनले सीमावर्ती क्षेत्रमा बसेर नेपालमा अपराध गरिरहेका यादव त्यसक्षेत्रमा बारूद सिंहका नामले कुख्यात रहेको जानकारी दिए ।
गत जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवका ८ वर्षीय छोरा गोलु रायलाई अपहरण गरी २० लाख रूपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । उनीमाथि कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा दर्ता भएको सर्लाही प्रहरीले जनाएको छ ।

यादव रौतहटको गरूडा नगरपालिका ६ अमरपटीका स्थायी बासिन्दा हुन् । ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरू विचाराधीन रहेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

प्रहरीले यादवलाई प्रदेश २ कै मुख्य अपराधीको सूचीमा राखेको थियो । उनको पक्राउलाई प्रहरीले ठूलो सफलताको रूपमा लिएको छ । यादव ज्वाला सिंहका अत्यन्त नजिक मानिन्थे ।अपराध गरेको रकममा कुरो नमिलेपछि उनले बेग्लै समूह सञ्चालनमा ल्याएर अपराधलिला रच्दै आएका थिए । धेरै नै मुद्दा परेपछि प्रहरीको केन्द्रीय टोली नै उनको खोजीका लागि सक्रिय भएको थियो ।