बसन्तपुरमा होलीको रौनक (फोटोफिचर)

बसन्तपुरमा होलीको रौनक (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा होली मनाउनेको चहलपहल सुरु भएको छ ।बसन्तपुरमा बर्षेनी विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरि होली खेल्ने गरिन्छ ।

वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ ।

वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ ।

फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको मान्ने गरिन्छ । यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको छ ।

फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

बसन्तपुरमा सयैं नेपालीसहित विदेशी पर्यटकहर रङ खेलेर रमाउँने गरेका छन् ।

आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा बिहानैदेखि होली मनाउन सुरु भएको छ भने तराईका जिल्लामा चैत्र १ गते होली खेलिनेछ ।

तस्वीर- रासस