काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीको बढुवा रोकेको भन्दै उनीविरुद्ध रक्षामन्त्रालयमा उजुरी परेको छ । नेपाली सेनाको निरीक्षणाधिकृत विभाग प्रमुख रहेका उपरथी बस्न्यातले बिहीबार प्रधानसेनापति थापाविरुद्ध रक्षामन्त्री ईश्वर पोखरेलसमक्ष उजुरी दिएका हुन् । आफ्नो बढुवा रोकेर प्रधानसेनापतिले आफुलाई अवकासमा पठाउन खोजेको बस्न्यातको आरोप छ ।
नेपाली सेनामा प्रधानसेनापतिविरुद्ध उपरथीले नै उजुरी दिएको यो पहिलो घटना हो । सेनामा रथी (बलाध्यक्ष रथी) पद गत भदौ २४ बाट रिक्त रहेको छ । बस्न्यातको रथीमा बढुवा नभए उनले यही मंसिर २५ गते सैनिक सेवाबाट अवकास पाउनेछन् ।
बस्न्यातले प्रधानसेनापतिलाई वोधार्थ दिएर पठाएको पत्रमा रथी (बलाध्यक्ष रथी) पद पूर्ति नगरेर आफूलाई अवकाशमा पठाउन लागेको आरोप लगाइएको छ ।
रक्षा स्रोतले दिएको जानकारीअनुसार उपरथी बस्न्यातले रक्षामन्त्री पोखरेललाई भेटेर गुनासो गरेका छन् । प्रधानसेनापतिको आदेशमा सेनामा थुप्रै अधिकृतको शैक्षिक प्रमाणपत्रको छानविन भइरहेको बेला बस्न्यातको प्रमाणपत्र शंकास्पद भएको भन्दै उनको बढुवा रोकिएको थियो । बस्न्यातको बढुवा रोक्न सेनाभित्रकै केही उपरथीहरु समेत लागेका छन् । उनको बढुवा रोकिए भावि प्रधानसेनापतिको रोलक्रम नै विगार्ने खेलमा केही उच्च अधिकृतहरु लागेको स्रोतको दाबी छ ।
तर, उपरथी बस्न्यातले भने रक्षामन्त्री पोखरेललाई प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात समेत पेश गरेका छन् । उपरथी वस्न्यातले आफुलाई अन्याय भएपछि रक्षामन्त्रालयमा उजुरी गरेको बताए ।
प्रतिक्रिया