आगामी आर्थिक वर्षको बजेट आज आउँदै, भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेट आज आउँदै, भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट आज आउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले दिउँसो ४ बजे सार्वजनिक गर्ने बजेट १५ खर्बको हाराहारीमा आउने देखिएको छ । अर्थमन्त्री खतिवडाले दोस्रो पटक बजेट पेस गर्न लागेका हुन् ।

नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । राष्ट्रिय योजना आयोगले १४ खर्ब ९४ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेकोमा अर्थ मन्त्रालयले पनि योजना आयोगले दिएको सिलिङको सीमा भित्रै रहने गरी बजेट निर्माण गरेको स्रोतले जनाएको छ । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ ।

स्रोतका अनुसार भैतिक विकासका नयाँ आयोजनाहरुलाई करिब डेढ खर्ब रुपैयाँ छुट्याइएको छ । आगामी आर्थिक वर्षको बजेटमा नयाँ आयोजनाहरुको अनुसन्धान तथा डीपीआर तयार गर्नको लागि बढी बजेट खर्च गरिने उल्लेख गरिएको छ ।

नेपालमा सडक सञ्जालको विकास राम्रो नभएकोले आगामी आर्थिक वर्षको लागि सरकारले त्यसमा जोड दिएको छ । रेलमार्गका लागि पनि कार्यक्रम समाबेस गरिएको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।

चालू आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।