महेन्द्रनगर – नेकपा एमाले बेदकोट नगर कमिटीले पार्टीका नेता–कार्यकर्तालाई सैद्धान्तिक र राजनीतिक प्रशिक्षण दिएको छ ।
पार्टीका केन्द्रीय र जिल्लास्तरीय नेताहरूले नगरस्तरीय कार्यक्रममा प्रशिक्षण दिएका छन् । प्रशिक्षण शुक्रबार र शनिबार सञ्चालन भएको नगर कमिटी उपसचिव वीरेन्द्र बहादुर महराले जानकारी दिए ।
नगर कमिटी अध्यक्ष हरि गिरीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रम उद्घाटन सत्रमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय नरबहादुर धामी र कृपाराम राना, प्रदेश कमिटी सदस्यद्वय रामसिंह धामी र पार्वती जोशी, जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लबराज भट्ट र अशोक चन्द लगायत जिल्ला कमिटीका सदस्यहरू अतिथि रहेका थिए ।
पहिलो दिन शुक्रबारको प्रशिक्षणमा जरा अभियान, सदस्यताको अनलाइन अपडेट, सूचना प्रविधि र यसको उपयोगबारे जिल्ला कमिटी सचिव पल्लबराज भट्ट, समावेशी सिद्धान्तबारे जिल्ला इन्चार्ज निरुदेवी पाल, कम्युनिष्ट आन्दोलनको इतिहास र हाम्रो दायित्वबारे केन्द्रीय सल्लाहकार परिषद् सचिवालय सदस्य गोविन्द कलौनी तथा जबजः महाधिवेशनद्वारा पारित कार्यक्रम, नीति र कार्यदिशाबारे प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले प्रशिक्षण दिएका थिए ।
दोस्रो दिन शनिबारको प्रशिक्षणमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययन र शक्ति सन्तुलनबारे पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, वर्तमान राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिबारे केन्द्रीय सदस्य नरबहादुर धामी, मार्क्सवादी, लेनिनवादी विश्व दृष्टिकोण र नेपाली समाजको अध्ययनबारे स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पार्टी र जननिर्वाचितहरूको अन्तरसम्बन्ध, बेदकोटको विकासमा हाम्रो पार्टीको भूमिकाबारे जिल्ला उपसचिव अशोककुमार चन्द, राजनीतिक सन्दर्भबारे प्रदेश कमिटी उपसचिव नरबहादुर विश्वकर्मा, बेदकोटको कम्युनिष्ट आन्दोलनको इतिहास र हाम्रो अभिभाराबारे केन्द्रीय कमिटी सदस्य कृपाराम रानाले प्रशिक्षण दिएका थिए ।
अध्यक्ष गिरीको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहमा केन्द्रीय कमिटी सदस्य नरबहादुर धामी प्रमुख अतिथि रहेका थिए । प्रशिक्षकहरूलाई मायाको चिनो दिएर प्रशिक्षण समापन गरिएको उपसचिव महराले बताए । उनका अनुसार नगरस्तरीय प्रशिक्षण सम्पन्न भइसकेकाले अब प्रशिक्षण कार्यक्रम वडास्तरमा सञ्चालन गरिनेछ ।
प्रतिक्रिया