बेलायत आमनिर्वाचन : कन्जरभेटिभ पार्टीले ल्यायो बहुमत, इयूबाट बाहिरिने

बेलायत आमनिर्वाचन : कन्जरभेटिभ पार्टीले ल्यायो बहुमत, इयूबाट बाहिरिने


एजेन्सी – बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याएको छ । शुक्रबार अपरान्हसम्म ६ सय ५० सिटमध्ये ६ सय ४२ सिटको अन्तिम मतपरिणाम आउँदा ३ सय ५८ सिटमा कन्जर्भेटिभ पार्टी विजयी भएको हो ।

बेलायती प्रसारण संस्था (बिबिसी) का अनुसार चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३५८ सिट जितिसकेको छ । उसले अझै केही सिट जित्ने बताइएको छ । बहुमतका लागि ३२६ सिट भए पुग्छ ।

अक्टोबर ३१ सम्म बेलायतलाई युरोपियन युनियन इयूबाट बाहिर निकाल्ने वाचा गरेर प्रधानमन्त्री बनेका जोन्सनले उक्त योजनामा सफलता नपाएपछि चुनाव घोषणा गरेका थिए ।

चुनावबाट कन्जरभेटिभ पार्टीलाई ३२ वर्षमै सबैभन्दा बढी सिट हात परेको छ । सन् १९८७मा मार्गेट थ्याचर प्रधानमन्त्री भएपछि कन्जरभेटिभ पार्टीले तल्लो सदनमा यति धेरै सिट जितेको थिएन ।

प्रतिपक्षी लेबर पार्टीले भने २०३ सिटमात्र हात पारेको छ । आफ्नो परम्परागत प्रभाव क्षेत्रमा पनि हार व्यहोरेको लेबर पार्टीले यसपालि ८५ वर्षकै सबैभन्दा कम सिट पाएको हो । आफ्नो पक्षमा स्पष्ट बहुमत आएपछि प्रधानमन्त्री जोन्सनले बेलायतलाई इयूबाट बाहिरिने स्पष्ट जनादेश प्राप्त भएको बताए । उनले अर्को महिना बेलायत इयूबाट बाहिरिने बताए ।

प्रधानमन्त्री हुनुअघिदेखि नै जोन्सनको प्रशंसा गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जितका लागि जोन्सनलाई बधाई दिएका छन् ।उनले बेलायत इयूबाट बाहिरिएसँगै अमेरिका र बेलायत नयाँ व्यापार सम्झौता गर्न स्वतन्त्र हुने बताएका छन् । ‘इयूमा हुँदा गरिने सम्झौताभन्दा यो सम्झौता निकै ठूलो र फाइदाजनक हुनेछ,’ ट्रम्पले भनेका छन् ।