बाढी–पहिरो : भक्तपुरमा ५ र ललितपुरमा ४ जना बेपत्ता

बाढी–पहिरो : भक्तपुरमा ५ र ललितपुरमा ४ जना बेपत्ता


काठमाण्डु– २ दिन देखि परेको अविरल वर्षाका कारण भक्तपुर डुवानमा परेको छ ।मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा परेका छन् ।

भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, राधेराधे लगायतका क्षेत्र जलमग्न भएका छन् ।

यस्तै भक्तपुरमा पहिरो र बाढीमा परी करिब ५ जना बेपत्ता भएका छन् ।

ठिमीमा पहिरोले ४ जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् ।उनीहरुको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरुको खोजीकार्य जारी रहेको छ ।

नेपाली सेना, प्रहरी, भक्तपुर नगरपालिकाको जनप्रतिनिधि लगायतको टोली टोली डुबान प्रभावित क्षेत्रमा पुगेर उद्धारको काम जारी राखेको छ ।

यस्तै नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सबा ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् ।

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।