पूर्वराष्ट्रपति भण्डारीद्वारा भूकम्पको क्षतिप्रति दुःख व्यक्त

पूर्वराष्ट्रपति भण्डारीद्वारा भूकम्पको क्षतिप्रति दुःख व्यक्त


काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनको तिब्बतमा भूकम्पले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त गरेकी छन् ।

तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको भन्दै उनले दुःख व्यक्त गरिन् ।

‘मित्रराष्ट्र चीनको तिब्बत केन्द्रबिन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु,’ भण्डारीले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन् ।

उनले चीनका राष्ट्रपति, चीन सरकार र शोकाकुल परिवार प्रति समवेदना प्रकट गरिन् । ‘दुःखको यस घडीमा चीनका महामहिम राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु, दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौं, छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्रराष्ट्र चीनलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु,’ उनले लेखेकी छन् ।

नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ९५ जना बढीको ज्यान गएको छ भने थुप्रै घरहरू भत्किएका छन् । भूकम्पको धक्का नेपाल र भारतमा समेत महसूस गरिएको थियो ।