एजेन्सी – जम्मू–काश्मीरको विशेष स्वायत्तता खारेज भएपछि अशान्त बनेको जम्मू–काश्मीर क्षेत्रमा भारत र पाकिस्तान सैन्य मुठभेडमा उत्रिएका छन् ।
भारतीय सेनाको आइतबारको जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको हिन्दूस्थान टाइम्सले जनाएको छ । भारत प्रशासित काश्मीरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरी २ भारतीय सैनिकको ज्यान लिएको बदलामा पाकिस्तान प्रसाशित काश्मीरको ताङधर क्षेत्रमा भारतीय सेनाले जवाफी कारबाही गरेको हो ।
आइतबारै भएको घटनामा एक जना नागरिक मारिएका थिए भने ३ जना घाइते भएको बताइएको थियो । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तान प्रशासित काश्मीर क्षेत्रमा रहेका भनिएका आतंकवादी क्याम्पमा भारतीय सेनाले तोप प्रयोग गरेको छ । समाचार अनुसार पाकिस्तान प्रशासित काश्मीरको निलम भ्याली क्षेत्रमा रहेका ४ वटा प्याडमा भारतीय सेनाले जवाफी कारबाही गरेको थियो ।
भारतीय सेनाका प्रवक्ताले युद्ध विराम उल्लघंन गरेर पाकिस्तानी सेनाले दुई भारतीय सेना र एक नागरिकको ज्यान लिएको बदलामा ताङधर क्षेत्रमा गरिएको जवाफी कारबाहीमा पाकिस्तानलाई ठूलो क्षति पुगेको दाबी गरेका छन् ।
प्रतिक्रिया