भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ, उच्चतहको मुद्दामा फैसला हुँदैन

भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ, उच्चतहको मुद्दामा फैसला हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ। यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएर पछि विशेष अदालतमा सरेको थियो।

उक्त प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारणीदत्त चट्टौतसहित सातजनालाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५८ जेठमा भष्टाचार मुद्दा चलाएको हो। विशेष अदालतबाट सफाइ पाएपछि अख्तियारले २०६४ माघ १३ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो। सर्वोच्चको संयुक्त इजलासमा राय बाझिएपछि यो मुद्दा हाल पूर्ण इजलासमा पुगेको छ।

अदालतमा मुद्दा खेप्दाखेप्दै मुद्दाका एक अभियुक्त गौरीनाथ शर्माको परलोक भइसकेको छ। यस्तै पूर्वमन्त्री गोविन्दराज जोशीको अकुत सम्पत्तिसम्बन्धी मुद्दा पनि २०६९ सालदेखि थाँती छ। अकुतमै पूर्वआईजीपी मोतीलाल बोहोरा र पूर्वसचिव चक्रबन्धु अर्यालको मुद्दा पनि यसरी नै अल्झिएको छ।

वित्तीय आतंकको रूपमा कहलिएको एक अर्ब बराबर राष्ट्रिय वाणिज्य बैंक (मोरङ रानी शाखा) कर्जा घोटाला प्रकरणले पनि सर्वोच्चमा फैसलाको दिन कुरेर बसिरहेको छ। बैंक घोटाला प्रकरणमा उद्योगी सुबोध अग्रवाल, सुरेश अग्रवाल र कृष्ण अग्रवाल मुछिएका छन्।

सर्वोच्चको अभिलेखअनुसार सोमबारसम्म ६ सय ८३ मुद्दा चाङ लागेका छन्। सर्वोच्चमा भ्रष्टाचार मुद्दा यस वर्ष सबैभन्दा बढी दर्ता भए। यही अवधिमा अघिल्लो वर्ष पाँच सय २९ भ्रष्टाचार मुद्दा विचाराधीन थिए। त्यसअघि आर्थिक वर्ष ०७१-७२ मा ६ सय ५० को संख्यामा थिए भने ०७०-७१ मा चार सय ८० थिए।

हरेक वर्ष भ्रष्टाचार मुद्दामा फैसला भने दुई देखि तीन प्रतिशत मात्र हुने गरेको देखिएको छ। अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका मुद्दा सर्वोच्चमा छन्।

विशेष अदालत ऐन, २०५९ को दफा १६ ९२० मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदनमा मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र सर्वोच्चले किनारा गर्नुपर्ने भनिएको छ। यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।