काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेको छ । बजेटको मूल मान्यतामा नै त्रुटि भएको भन्दै कांग्रेसले बजेट पुनर्लेखन गर्नुपर्ने बताएको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले धेरै नै असन्तुष्टि देखिएको र बजेटको मूल्य मान्यतामा नै त्रुटी देखिएकाले पुनर्लेखन गर्नुपर्ने कांग्रेसको माग रहेको बताए । बुधबार संसद् बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले भने, ‘सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ ।’
उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुबीर महासेठले मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए ।
‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो। मन्त्रीजीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो,’ लेखकले भने । यो शक्ति र सत्ताको दुरुपयोग भएको उल्लेख गर्दै लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनःलेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निस्कर्षमा कांग्रेस पुग्ने लेखकको भनाइ थियो ।
उनले भने,‘प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ती मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ ।’
प्रतिक्रिया