सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर

सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डु–सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

आयोगले पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै न्यू हरि निर्माण सेवा प्रालि सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढाक्षेत्री, नवराज कन्ट्रक्सनका नवराज ढकाल र एनजल कन्ट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढाक्षेत्रीविरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भ्रष्टाचारको मुद्दा दायर भएका उनीहरुले कूल ३६ लाख ७८ हजार ५४३ बराबरको सरकारी राजस्व रकम हिनामिना गरेको अख्तियारको दाबी छ ।

उनीहरुमध्ये कर्मचारी, हरि निर्माण सेवा सुर्खेतका सञ्चालक बुढा क्षेत्री र नवराज निर्माण सेवाका सञ्चालक ढकालविरुद्द छुटटा छुट्टै ३६ लाख ७८ हजार ५४३ विगो दाबी कायम गर्दै मुद्दा दायर गरेको हो भने एञ्जल निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतका सञ्चालक बुढाक्षेत्री विरुद्द २९ लाख एक हजार ६९६ रुपैयाँ विगो दाबी कायम गर्दै मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज काठमाडौँमा मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीले नक्कली प्रमाणपत्र पेश गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

भण्डारीले एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीमाथि छानबिन गर्दा अस्पतालमा ल्याब ब्वाई पदमा स्थायी नियुक्त हुन र वरिष्ठ ल्याव व्ब्वाई पदमा बढुवा हुन उनले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको आयोगले जनाएको छ ।