उपसभामुख राना र हेबेई प्रान्तीय उपाध्यक्ष झाङ मेइझी बीच भेटवार्ता

उपसभामुख राना र हेबेई प्रान्तीय उपाध्यक्ष झाङ मेइझी बीच भेटवार्ता


काठमाण्डु– उपसभामुख इन्दिरा राना र चीनको हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समिति उपाध्यक्ष झाङ मेइझी बिच भेटवार्ता भएको छ । चीनको १४ औं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको सदस्य समेत रहेकी हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझी र उपभामुख राना बिच बिहीबार संसद सचिवालय स्थित उपसभामुख रानाको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटमा उपसभामुख रानाले चीन र चिनियाँ जनताले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा कृतज्ञता ब्यक्त गर्दै चीन सधैं नेपालको भरपर्दो साझेदार रहेको बताए । उनले नेपालमा दैवी प्रकोप लगायतका कठिन घडीमा चिनियाँ पक्षबाट प्रदान गरिएको उदार सहयोगको कदर गर्ने बताइन् ।‘हाम्रो सदियौं पुरानो मित्रता र लामो समयदेखिको सहयोगलाई अभिवृद्धि गर्न नेपाल र चीनले सँगै काम गर्न सक्ने थुप्रै क्षेत्रहरू छन्।’ उनँले भनिन् ‘ हामी दुई देश र जनताको पारस्परिक हितमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान तत्पर छौं।’

नेपालको प्रमुख विकास प्राथमिकताहरूमा कृषि, जलविद्युत र पूर्वाधार विकास, कनेक्टिभिटीका सबै मोड, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटन क्षेत्रहरू समावेश रहेको उल्लेख गर्दै उपसभामुख रानाले नेपालका प्राथमिकताका क्षेत्रहरूमा मिलेर काम गर्न सकिने धारणा पनि राखीन् । उनले रोजगारीका अवसरहरू सिर्जना गर्ने र आर्थिक वृद्धि, प्रगति र समृद्धिलाई सहयोग गर्ने उद्देश्यले विकासका प्राथमिकताका क्षेत्रमा चिनियाँ सहयोग र लगानीलाई नेपालले सधै स्वागत गर्ने बताइन् । दुई देशका विचमा संसदीय अनुभव आदनप्रदानका लागि पनि यो भेट महत्वपूर्ण हुने उपसभामुख रानाले बिश्वास ब्यक्त गरिन् ।

उनले औधोगिक क्षेत्रको रुपमा विकास भएको हेबेई प्रान्तमा वायु प्रदुषण र वातावरण संरक्षणका लागि गरिएका प्रयासका बारेमा पनि संसदीय टोली संग जिज्ञासा राखेकी थिइन् ।

हेबेई प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझीले चीनियाँ जनकंग्रेस र नेपालको संघीय संसदका बिचमा संसदीय अनुभव आदानप्रदान हुँदै आएको चर्चा गर्दै अर्थतन्त्र, शिक्षा, पर्यटन र साँस्कृतिक क्षेत्रमा नयाँ आधार तय गर्न चाहेको बताइन् । उनले हेबेई प्राप्तमा भैरहेका विकास र परिर्वतन तथा पर्यटकीय संभावनाका क्षेत्रका बारेमा चर्चा गर्दै प्रान्तीय जनकंग्रेस र नेपालको संसदका बिचमा सहकार्य र अनुभव आदनप्रदान बढाउन सकिने बताइन् ।