एमालेका इमान्दार कार्यकर्ताले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेछन् : डा. रावल

एमालेका इमान्दार कार्यकर्ताले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेछन् : डा. रावल


काठमाण्डु – नेकपा एमालेको सदस्यबाट निष्कासित नेता डा. भीम बहादुर रावलले पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

पार्टी सचिवालय बैठकले कारवाहीको निर्णय गरेको भोलिपल्ट बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रावलले लेखेका छन्, ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’

अध्यक्ष ओलीले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा आश्चर्य नलागेको उनको टिप्पणी छ ।

‘नेकपा एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’ उनले भने, ‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरूलाई काखी च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन ।’