कस्तो पार्टी खोल्दै छन् भीम रावल ?

कस्तो पार्टी खोल्दै छन् भीम रावल ?


काठमाण्डु- एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले आज पत्रकार सम्मेलन गरी नयाँ पार्टीको घोषणा गर्न लागेका छन् ।

दिउँसो १ बजे उनले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठनको घोषणा गर्न लागेका हुन् । रावलले पत्रकार सम्मेलन गरेर आफ्नो आगामी राजनीतिक योजनाबारे स्पष्ट पार्ने छन् ।

रावलसँग भेट गरेका नेताहरू उनी पार्टी गठनको तयारीमा लागिसकेको दाबी गर्छन् । सोमबार सुदूरपश्चिम प्रदेशसभामा स्वतन्त्र सांसद डडेलधुराका तारा जोशी र अहिले बीपी कांग्रेसमा उपसभापति रहेका डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्लले रावलसँग भेटघाट गरेका थिए ।

कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारी उनले थालेका छन् । तीन दशकभन्दा लामो समय एमालेको राजनीति गरेका उनी अब भने गैरकम्युनिस्ट पार्टी बनाउने योजनामा छन् ।

रावलको नयाँ पार्टी गठनमा एमालेको चिनिएका नेता सहभागी हुन्छन् कि हुँदैनन् भन्ने टुंगो लागेको छैन । एमालेमा रहेका असन्तुष्ट नेता, विगतमा कांग्रेससँग जोडिएर अलग भएका र असन्तुष्ट बनेका नेता समेटेर पार्टी बनाउने उनको तयारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि फरक मत राख्दै आएका रावलले २०७८ मा भएको दसौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका उनी दूरी बढ्नुअघि ओलीसँग निकट रहेर संविधान निर्माण र शान्ति प्रक्रियाका काममा सक्रिय भएका थिए ।

पछिल्लो समय विवादास्पद व्यवसायी मीनबहादुर गुरुङको दानबाट केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले गर्दा पनि उनले आपत्ति जनाएका थिए । त्यसमा पार्टीले स्पष्टीकरण सोध्दा उनले जवाफ दिएनन् । त्यसपछि पार्टीले रावललाई संगठित सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको हो ।

रावललाई संगठित सदस्यसमेत नरहने गरी पार्टी सचिवालयले गरेको कारबाहीप्रति एमालेका केही नेताले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि गरिएको कारबाही गलत भएको उनीहरूको भनाइ छ ।

रावलका समर्थक मानिने एमाले केन्द्रीय सदस्य झपट रावलले तीन नेतामाथि गरिएको कारबाही आगामी केन्द्रीय कमिटीको बैठकबाट फिर्ता हुनुपर्ने बताउँछन् ।