ओलीले गुटगत कारबाही गरेर पार्टीबाट निकाले : भीम रावल

ओलीले गुटगत कारबाही गरेर पार्टीबाट निकाले : भीम रावल

मेरो सदस्यता नै खान मिल्छ र ?


काठमाडु- एमालेबाट निष्कासित नेता डा. भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो दृष्टिकोण राखेका छन् ।

उनले मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गरेका छन् । जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा पनि रावलले उठाएका छन् । त्यस्तै ठूला भ्रष्टाचारको मुद्दालाई पनि उनले बताएका छन् ।

बाह्य हस्तक्षेप बढेको र सत्तामा हालिमुहाली गरेकाहरूले नै त्यसको वातावरण बनाएको रावलले आरोप लगाएका छन् । नेपाली युवाहरू ठगिएकोदेखि प्रवासी नेपालीहरूको पीडाका रावल उनले उठाए । तर, नेताहरूले भने भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उनको टिप्पणी छ ।

अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उनले बताएका छन् । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने बताए ।

आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताउँदै रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने उल्लेख गरेका छन् ।

देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित रावलको आह्वान छ ।

एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकालिएको बताएका रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको जिकिर गरेका छन् । आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको रावलको दाबी छ ।

‘अध्यक्ष पदमा उम्मेदवार दिएबापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’ अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरे ।

आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको र सोही कारण कारबाही गरिएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दावी गर्दै तर पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको टिप्पणी गरे । उनले पत्रकार सम्मेलनका क्रममा पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

आफूसहित विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि कारबाहीको प्रस्ताव राख्दा सचिवालयका सदस्यहरूले विरोध गरेको भन्दै रावलले त्यसरी विरोध गर्नेहरूलाई धन्यवाद दिए । आफूले लिएको बाटोमा अझ दृढ रहेको उनले बताए । उनले सदस्यता हटाउने निर्णयलाई अन्यायपूर्ण भने ।

उनले आफूमाथि पार्टीले सोधेको स्पष्टीकरणमाथि नै प्रश्न उठाए । स्पष्टीकरण सोध्नुअघि आफूमाथि कुरासमेत नगरी ओलीले प्रतिशोध साँधेकाले आफूले नभइ ओलीले स्पष्टीकरणको जवाफ दिनुपर्ने रावलले तर्क गरे ।

रावलले ठूला भनिएका दलहरू सिद्धान्तहीन बाटोमा लागेको बताए । उनले भने, ‘ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेका छन् । पद हत्याउने होड चलिरहेको छ । अन्तराष्ट्रिय सम्बन्ध फितलो बनाइएको छ । सीमा असुरक्षित भएको छ ।’

देश विचौलिया र दलालको हातमा पुगेको उनको भनाइ छ । आफूलाई एमालेबाट निष्कासित गर्नु ओली गुटको पूर्वाग्रह भएको बताएका छन् ।