भीम रावलको बाटो : मातृभूमि जागरण अभियानबाट देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण

भीम रावलको बाटो : मातृभूमि जागरण अभियानबाट देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण


काठमाण्डु – नेता भीम रावललाई पार्टीले निष्कासित गरेपछि कतिपय नेकपा एमाले नेताहरूले केन्द्रीय कमिटी बैठकबाट कारवाही फिर्ता गराउने र उनलाई पुनः पार्टीमै भित्र्याउने प्रयास गरिरहेका बेला उनले देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माणको उद्घोष गरेका छन् ।

बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै रावलले मातृभूमि जागरण अभियान चलाउने जानकारी दिए ।

मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हकहितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने उनले बताए ।

‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन् र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,’ उनले भने, ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ ।’

‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ, धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ,’ उनले भने, ‘यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ, यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।’

पत्रकार सम्मेलनमा उनले देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गरी देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने घोषणा गरे ।

उनले ‘अबको बाटो’ खण्डमा भनेका छन्, ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ ।’