गृह मन्त्रालयले जारी गरेको सर्कुलरप्रति भीम रावलको आपत्ति

गृह मन्त्रालयले जारी गरेको सर्कुलरप्रति भीम रावलको आपत्ति


काठमाडौं – गृह मन्त्रालयले मंगलबार (जन्मसिद्ध) नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएकोप्रति नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन् ।

सांसद समेत रहेका रावलले नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृहले मन्त्रीस्तरीण निर्णय गर्दै अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेपछि आपत्ति जनाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा त्यसको उपेक्षा गरी संसदमा विचाराधीन नागरिकताबारे निर्णय लिएको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘सरकार संसदप्रति उत्तरदायी हुने कुरा भनिरहनु पर्दैन् । तर बिडम्बना, नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलमा रहेका बेला सरकारले नागरिकता वितरणबारे निर्देशन जारी ग‍र्यो । यो नेपालको संविधान नआउँदै २०६३ सालमा नागरिकता ऐन ल्याउने हतारोकै पुनरावृत्ति हो कि ?’