अछाम – जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदको संलग्नतामा भ्रष्टाचार भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद् अछाम अन्तरगत गाउँजनपरिषद् प्रखुम राकेशले बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष साउदको प्रत्यक्ष संलग्नता र दवावमा प्राविधिक मुल्यांकन प्रतिवेदन र विल भपाई विपरित सबै रकम भुक्तानी गरिएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् ।
गाउँपालिकाको वडा नं. ५ स्थित निलकण्ठ माविको घेरा पर्खाल लगाउँदा अध्यक्ष साउदको संलग्नतामा ५ लाख ९९ हजार बढी भ्रष्टाचार भएको विज्ञप्तिमा उल्लेख छ ।
‘रामारोशन गाउँपालिका–५ स्थित निलकण्ठ माविको घेरा पर्खाल लगाउन गाउँपालिकाद्वारा आ.ब. २०७६/७७ मा १५,३०,००० ।– बजेट बिनियोजन गरिएकोमा जम्मा कामको करिब ३० प्रतिशत पनि काम पूरा नभई गाउँपालिका अध्यक्ष झंकर साउद ‘भाष्कर’को प्रत्यक्ष संलग्नता र दबाबमा प्राबिधिकको मूल्याकंन प्रतिबेदन र बिल भर्पाइ बिपरित सबै रकम भुक्तानी गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्राबिधिक मूल्यांकनअनुसार ८,६९,४२२ को बिल भर्पाइ उठाइएकोमा गाउँपालिका अध्यक्षको दवावमा ६१,२०१ कन्टिजेन्सी बाहेक ५,९९,३७७ रुपैयाँ बढी भुक्तानी गराई भ्रष्टाचार गरिएको छ । यस गाउँपालिकाका अध्यक्ष साउदको बारेमा अनियमितता र भ्रष्टाचार सम्बन्धि बारम्बार जनताको गुनासो र खबरदारी रहेको कुरा पनि सर्वबिदितै छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रमुख राकेशले अध्यक्ष भाष्कर कमिसन र भ्रष्टाचारमा लिप्त रहेको भन्दै पदीय शक्तिको दुरुपयोग गरि जनताको रगत पसिनाले तिरेको कर र विभिन्न बिकासे आयोजनाहरुमा बदमासी गरिरहेकोले यस्तो क्रियाकलाप तुरुन्तै रोक्न, नाजायज रुपमा गरिएका भुक्तानी फिर्ता गर्न र जनताको अगाडि माफी माग्न समेत भनेका छन् ।
विज्ञप्तिमा राकेशले अख्तियर दुरुपयोग अनुसन्धान आयोगलाई उक्त अनियमिततासहित यस गाउँपालिकामा सन्चालित विभिन्न बिकासे आयोजनाहरुमा भइरहेको कमिसन, भ्रष्टाचार र अनियमितता छानबिनको लागि ध्यानाकर्षण समेत गराएका छन् । अध्यक्ष भास्करले भ्रष्टाचार र अनियमितता नरोके जनकारवाही गर्ने चेतावनी गाउँजनपरिषदले दिएको छ ।
प्रतिक्रिया