उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्म आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।

दिनेश यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको तर सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको छ ।

उक्त सम्पती आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा अमृतालाई पनि प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।