प्रधानमन्त्री ओली र गृहमन्त्री थापा पदमा रहेसम्म निर्मला हत्याको पर्दाफास हुँदैनः विवेकशील साझा

प्रधानमन्त्री ओली र गृहमन्त्री थापा पदमा रहेसम्म निर्मला हत्याको पर्दाफास हुँदैनः विवेकशील साझा


काठमाडौं – प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्रीमा रामबहादुर थापा बादल रहेसम्म निर्मला घटनाको पर्दाफास नहुने विवेकशील साझा पार्टीले बताएको छ । विवेकशील साझाले विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा गैह्र जिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाएको छ ।

‘प्रधानमन्त्रीले ‘निर्मला प्रकरणमा दोषि पक्रन बाह्र बर्ष लाग्नसक्ने’ बताएको र गृहमन्त्रीले ‘पुँजीवादका कारण बलात्कार बढेको’ उल्लेख गरेर आफ्नो अकर्मण्यतालाई छताछुल्ल पारेका छन्’ सो पार्टीले भनेको छ, ‘यस्ता गैह्रजिम्मेवार अभिव्यक्तिले प्रधानमन्त्री र गृहमन्त्रीको कुर्सीमा क्रमशः केपी शर्मा ओली र रामबहादुर थापा ‘बादल’ रहुन्जेल यो बर्बर एवं जघन्य घटनाको पटाक्षेप हुन नसक्ने हो कि भन्ने आशंकालाई बल पुगेको छ ।’

विवेकशील सझा पार्टीले सो घटनामा प्रमाण नष्ट गर्न संलग्न प्रहरी अधिकारीहरुलाई मुलुकी ऐनको व्यवस्था बमोजिम प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्नसमेत माग गरेको छ ।  यस्तै, शंकास्पद व्यक्तिको डीएनए परीक्षण निष्पक्ष रूपमा अनुसन्धान भएको देखाउन आवश्यक परे प्रहरीसँग असम्बन्धित तेस्रो पक्षको प्रयोगशालामा जाँच गराउन माग गरिएको छ । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका अपराधीहरु चार महिना बितिसक्दासमेत पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फि आलोचना भइरहेको छ ।