विवेकशील साझाको आरोप – उज्वल थापाले छापामार शैलीमा पार्टी फुटाए

विवेकशील साझाको आरोप – उज्वल थापाले छापामार शैलीमा पार्टी फुटाए


काठमाडौं – बैकल्पीक राजनितिको अभ्यास गरी रहेको विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ । पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘जसरी विवेकशील नेपाली दलका १६ जना अलग भएर जानुभयो । यसले एउटा समूह भवनात्मक रुपमा नजोडिएको र अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको छ ।’ पार्टीलाई भावनात्मक रुपमा एक गराउन नसक्नु सामूहिक कमजोरी भएको उनले स्वीकार गरेका छन् ।

पार्टीमा देखिएको विश्वासको संकटलाई राजनीतिक रुपमा नभई संचनागत रुपमा सम्बोधन गर्न खोज्नु आफूहरुको कमजोरी भएको पनि उनले बताए । अलग हुने भएपछि हार्दिकका साथ छुटिन सकिने भएपनि नेताहरुले छापामार शैली अपनाएको उनको आरोप छ । ‘हामीले ३० गते छलफल गर्ने सोचेका थियौं तर, छापामारशैलीमा एकै पटक निर्वाचन आयोगमा दर्ता भयो रे भन्ने सूचना पायौं’ उनले भने ।

प्रवक्ता डा. आचार्यले पार्टी फुट्नु दुःखद भएको तर, आफू हतास भने नभएको दाबी गरे । ‘हामीलाई जनताले आशाको रुपमा हेरेका थिए, त्यसमा ठेस लाग्यो । हाम्रो चिन्ता यसमा हो’ उनले भने, ‘तर, हामी हतार भएका छैनौं, आफ्नो लक्ष्यमा दृढ छौं ।’

उज्वल थापा समूहले लगाएको ५ जना केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत र्पुयाउन खोेजेको, पेलेको जस्ता आरोपहरुको विवेकशील साझा पार्टीले खण्डन गरेको छ । प्रवक्ता आचार्य भन्छन्, यस्तो अंक गणितको राजनीति त हामीलाई थाहै छैन । पुरानो राजनीति त बरु छुटेर जाने साथीहरुले राम्रोसँग जान्नु भएको रहेछ ।’

महाधिवेशनको मिति तोकियो

बैठकले पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ । साथै माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाइएको छ भने माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने निर्णय भएको छ ।

केन्द्रीय समितिको बैठकले १५-१९ फागुन २०७६ मा महाधिवेशन गर्ने निर्णय समेत भएको छ । यस्तै प्रदेश १ को संयोजकमा अनिल भेटवाल तोकिएको प्रवक्ता आचार्यले जानकारी दिए । साथै पार्टीमा युवा र महिला संगठन बनाउने निर्णय गर्र्दै युवा संयोजकमा अब्दुस मियाँ र महिला संयोजकमा सोभिता परियारलाई नियुक्त गरेको छ ।