विवेकशील साझामा विग्रह : वैकल्पिक राजनीतिक धारलाई धक्का

विवेकशील साझामा विग्रह : वैकल्पिक राजनीतिक धारलाई धक्का


काठमाडौं – विवेकशील नेपाली दल फरक राजनीतिक धार र संस्कार देखाउँदै नेपाली राजनीतिमा आएको थियो । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) मा उम्मेदवारी दिएकी कान्छी उम्मेदवार रञ्जु दर्शना सामाजिक सञ्जालमा चर्चित पात्र बनिन् ।
सामाजिक सञ्जालमा चर्चा पाएपनि चुनाव जित्न नसकेपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग मिल्यो । दुवै पार्टी मिलेर ३ नम्बर प्रदेश सभामा तीन सिट सुरक्षित गर्न सफल भए ।

दुवै पार्टी मिलेर बनेको विवकशील साझा पार्टीले आफूलाई वैकल्पिक राजनीतिक धारका रुपमा उभ्याउने गरेको थियो । तर पार्टीको आन्तरिक लोकतन्त्र र सञ्चालन पद्धतिमा असन्तुष्टि जनाउँदै उज्ज्वल थापा नेतृत्वको विवकेशील धार साझाबाट बाहिरिएको छ । अन्ततः विवेकशील साझा पार्टीमा विग्रह आएको छ ।

एकता भएको १७ महिनामै विवेकशील साझा पार्टी दुई चिरा परेको छ । विवेकशील नेपाली दललाई निरन्तरता दिन भन्दै उज्वल थापा पक्षले शुक्रबार निर्वाचन आयोगमा पुरानै दल दर्ताको निवेदन दिएका छन् । पूर्वपत्रकार समेत रहेका रविन्द्र मिश्रले पार्टीमा निषेधको राजनीति गरेको विवेकशील पक्षको आरोप छ ।

‘हामी उदाहरणीय बन्न चाहन्छौं, जुन काम विवेकशील साझामा रहेर सम्भव हुन सकेन,’ नेता उज्ज्वल थापाले भने । विवेकशील नेपाली दल र साझा पार्टीबीच डेढ वर्षअघि एकीकरण भएको थियो । प्रारम्भिक जानकारी अनुसार पार्टीका तीन जना प्रदेशसभा सदस्यमध्ये विराजभक्त श्रेष्ठ र रमेश पौड्याल थापा पक्षमा लागेका छन् भने शोभा शाक्य मिश्रसँगै छिन् ।

साझा पार्टीबाट छुट्टिने केन्द्रीय सदस्यमा रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, शशिविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, आशुतोष तिवारी र अर्जुनसिंह ठकुरी छन् । छुट्टिएका सबै तत्कालीन विवेकशील नेपाली दलका नेता हुन् । विवेकशील र साझा छुट्टिएर स्थापनाकालकै टीम वरिपरि पुगेको छ ।

पार्टीमा रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यले एकलौटी गरेको विवेकशील पक्षको आरोप छ । साझा पक्षका तीनै नेताले ५ जना केन्द्रीय सदस्य थप गरेका थिए । संयोजक उज्ज्वल थापालाई पार्टीमा महत्त्व नदिइएपछि विवेकशील पक्ष असन्तुष्ट थियो । रविन्द्र मिश्र समूहले प्रदेश संयोजक थप गरेको र १२ वटा विभाग खारेज गरेपछि विवाद चुलिएको थियो ।

उज्ज्वल थापाले पुस ७ गते असन्तुष्टि सहितको प्रतिवेदन सार्वजनिक गरेका थिए । सार्वजनिक प्रतिवेदनमा छलफल गर्न पुस २५ गते केन्द्रीय समिति बैठक डाकिएको थियो । बैठकमा प्रतिवेदनमाथि सुनुवाइ नभएपछि विभाजित हुनुपरेको विवेकशील पक्षको दावी छ ।

‘पार्टीको केन्द्रीय समितिले केन्द्रीय सदस्य थप्ने लगायतका तयारी गर्न थाल्यो । तर प्रतिवेदनमाथि कुनै बहस गर्न चाहेन,’ केन्द्रीय सदस्य मिलन पाण्डेले भने, ‘अन्ततः हामीले छुट्टिने निर्णय गर्यौं ।’ पार्टीमा परम्परागत राजनीतिक दलजस्तै संस्कार र व्यवहार देखिएको विवेकशील पक्षको आरोप छ । २०७४ साउन ११ गते दुवै पार्टी एक भएका थिए । विवेकशीलका अध्यक्ष थापा र साझा पार्टीका संयोजक मिश्र एकीकृत पार्टीमा सहसंयोजक रहेका थिए । पछि दुवैलाई संयोजक बनाइएको थियो ।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले थापा पक्ष छुट्टिएको समाचारबाट आफू आश्चर्यमा परेको बताएका छन् । ‘पार्टीका केही नेताको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यमा घात मात्र भएको छैन, पार्टी निर्माणमा लामो समयदेखि क्रियाशील युवाहरू र मतदाताप्रति पनि अन्याय भएको छ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूले वैकल्पिक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मूल्यांकन गर्ने नै छ ।’

पछिल्लो समय विवेकशील, साझा र नयाँशक्ति पार्टीले आफूलाई वैकल्पिक राजनीतिक धारका रुपमा उभ्याउने गरेका छन् । थोरै भएपनि परम्परागत राजनीतिबाट रुष्ट तप्काले वैकल्पिक धारबाट आशावादी हुने गरेका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले निर्वाचनमा सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि विवेकशील साझा पार्टी विकल्प बन्ने आशा गरिएको थियो । पार्टीले ३ नम्बर प्रदेश सभामा तीन सिट जितेको थियो ।

अब दुवै पार्टी विभाजित भएपछि वैकल्पिक राजनीतिक धारमा धक्का लागेको छ । विवेकशील साझामा बाबुराम भट्टराई समेत मिलेर वैकल्पिक धारलाई शक्तिशाली बनाउनुपर्ने सुझाव दिइरहेका अभियन्ताहरू विवेकशील साझाको फुटले चिन्तित बनेका छन् । पार्टीगत फुटले वैकल्पिक धार पनि फुट र जुटमै रुमल्लिने संकेत दिएको छ ।