विदेश विभाग उपप्रमुखमा रिजाललाई जिम्मेवारी, अन्यमा को–को परे ?

विदेश विभाग उपप्रमुखमा रिजाललाई जिम्मेवारी, अन्यमा को–को परे ?


काठमाडौं– नेकपाका केन्द्रिय सदस्य विष्णु रिजाललाई पार्टीको विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार वसेको वैठकले रिजाललाई उपप्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा रिजाल उनको प्रेस सल्लाहकार समेत बनेका थिए । उनि नेकपा एमालेको प्रचार विभागको समेत उपप्रमुख बनेका थिए । युवा नेता रिजाल लामो समयदेखी पत्रकारितामा सक्रिय थिए ।

दैलेख निवासी रिजाल बुधवार साप्ताहिकको सम्पादकको भुमिका समेत सम्हालेका थिए । उनलाई तत्कालिन एमालेको दैलेख जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागी दैलेखबाट उम्मेदवार सिफारीस समेत गरेको थियो । विदेश मामिलामा समेत कलम चलाउने रिजालको सम्पादनमा ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतको अनुभव’ नामक पुस्तक समेत भर्खरै प्रकाशित भएको थियो ।

त्यसैगरि सुरक्षा विभाग प्रमुखमा भानुभक्त ढकाल, उपप्रमुखमा रामकुमार राई, नीति अनुसन्धान प्रतिष्ठानको सहसंयोजकमा प्रमेश हमाल, प्रादेशिक मामिला विभागको उपप्रमुखमा डोरमणि पौडेल, सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईं, प्रेस संगठनको सहईन्चार्जमा महेश्वर दाहाल, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्ज वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ ।