विद्युत् महशुल नबुझाउनेलाई कारवाही : बैंक खातादेखि शेयर कारोबारसम्म रोक्का

विद्युत् महशुल नबुझाउनेलाई कारवाही : बैंक खातादेखि शेयर कारोबारसम्म रोक्का


काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध नयाँ तरिकाको कारवाही गरेको छ ।

प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै सम्बन्धित निकायबाट हुने काम–कारवाही रोक्न सिफारिस गरेको छ ।

प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न भनेको छ । प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद/बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ ।

प्राधिकरणले कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखेर शेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न आग्रह गरेको छ ।

बक्यौता तिर्न बाँकी रहेका ३४ वटा उद्योगले थप दस्तुरसहित जोडेर ६ अर्ब ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सरकारले महशुल नबुझाउने कम्पनीको विद्युत् नकाट्न निर्देशन दिएपछि प्राधिकरणले कारवाहीको नयाँ तरिका प्रयोग गरेको छ ।