काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेभित्र सक्रिय राजनीतिमा रहँदाको सम्बन्ध पुनर्ताजगीमा लागेकी छन् ।
शुक्रबार धरानमा नेकपा एमालेका नेताहरूसँगको भेट कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालको भएको बताइन् । भण्डारीले अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको बताइन् । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले सोच्नुपर्नेमा भण्डारीले जोड दिइन् ।
राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उनले अपिल गरिन् । ‘अहिलेको नयाँ पुस्ता अत्यन्त तीव्र गतिमा हिँड्न चाहन्छ, हामी जुन पर्खिने धैर्यता राख्थ्यौ, अहिलेको पुस्तामा त्यो खालको धर्यता छैन,’ उनले भनिन् ।
नेपाल जस्तो भौगोलिक अवस्थितिमा छ, त्यस हिसाबले नेपाली अतिगौरवशाली र भाग्यमानी भएका उनले बताइन् । ‘एकातिर ठूलो विकसित देश चीन छ, अर्कोतिर छिमेकी मित्रराष्ट्र भारत छ, दुवै देशले धेरै विकास गरेका छन्, यसबाट नेपालले लाभ लिनुपर्छ,’ उनले भनिन् ।
सामान्य मात्रै होइन, विज्ञान र प्रविधिमा दुवै देशले फड्को मारेका उनले बताइन् । त्यहीँबाट आएका दैनिक उपभोग्य सामानबाट नेपालले सेवा लिएर नेपालीले गुजारा गरिरहेको स्थिति रहेको भण्डारीले सुनाइन् ।
त्यसले नेपालीको स्वदेशमा काम गर्ने बानी नै छुटेको उनले बताइन् । यसले देशमा बिस्तारै बेरोजगारी बढेर रोजगारीको खोजीमा युवा विदेश पलायन भएका उनको धारणा छ । ती विकसित देशको विकासबाट नेपालीले लाभ लिनै नसकेको उनले बताइन् ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, कवयित्री कुन्ता शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।
प्रतिक्रिया