बाढी-पहिरोले १३०० मेगावाट विद्युत् उत्पादन बन्द, ३०० मेगावाट भारतबाट आयात गरिँदै

बाढी-पहिरोले १३०० मेगावाट विद्युत् उत्पादन बन्द, ३०० मेगावाट भारतबाट आयात गरिँदै


काठमाण्डु-अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ ।

अविरल वर्षाका कारण शनिबार साँझसम्म देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

यस्तै, रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ ।

प्रवक्ता घोषकानुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँचजना सम्पर्कविहीन छन् ।

यस्तै, खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ । उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौँ आउने विद्युत् लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ । उक्त प्रसारण लाइनअन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो ।

बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको प्रवक्ता घोषले बताए ।

नेपालमा उत्पादित विद्युत्गृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युत्गृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन् ।

नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढीपहिराले क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।