महिनामा अर्बको बिजुली चोरी, बिजुली चोरी रोक्न उर्जामन्त्रीले बनाए यस्तो संयन्त्र

महिनामा अर्बको बिजुली चोरी, बिजुली चोरी रोक्न उर्जामन्त्रीले बनाए यस्तो संयन्त्र


काठमाडौं – चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार बताए।

प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए । ‘बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने, ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ ।यसैबीच, बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा गर्न चालेको अभियानलाई मन्त्रालयले सघाउन लागेको हो ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालबीच बुधबार विद्युत् चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइन आयोजनालगायतका विषयमा छलफल भएको छ । बैठकमा बिजुली चोरी नियन्त्रणका लागि प्राधिकरणले चालेको अभियानमा सघाउन पाँचबुँदे निर्णय भएको छ।

नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने

विद्युत् चोरी नियन्त्रण परिणाममुखी बनाउन प्रत्येक जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयले समन्वय गरी संयुक्त रुपमा कर्यायोजना तयारी गरी कार्यान्वय गर्ने र विद्युत चोरेको पाइएमा दुवै मन्त्रालयअन्तर्गतका कार्यालयबीच समन्वय गरी कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय भएको हो । आजको नागरीक दैनिकमा समाचार छ ।