काठमाण्डु – टोखा नगरपालिका–९ लक्ष्मीनगरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा नुवाकोटको शिवपुरी गाउँपालिका ८ घर भई काठमाण्डुको स्वयम्भु बस्ने २७ वर्षीय सुभाष तामाङ र धादिङको थाक्रे गाउँपालिका–८ का ३० वर्षीय सञ्जय तामाङ छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०२६ प ०३३७ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२२ प ६३९२ राखी सुभाषले चलाइरहेको अवस्था फेला पारी मोटरसाइकलमा पछाडि सवार सञ्जयलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल बझाङ घर भएका विजयराज उपाध्यायले गत मंसिर ४ गते काठमाण्डुको कीर्तिपुरबाट हराएको भनी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता राउतले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।
प्रतिक्रिया