कृषि उत्पादन बढाउन योजना र कार्यक्रम तय गरिनुपर्छ : उपाध्यक्ष घिमिरे

कृषि उत्पादन बढाउन योजना र कार्यक्रम तय गरिनुपर्छ : उपाध्यक्ष घिमिरे


सुनसरी– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् । 

उपाध्यक्ष  घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्ने बताइन् । ‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ तर उत्पादन वृद्धि र  आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उनले भनिन् ‘खाद्यान्न, फलफूल, दुध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ।’ 

तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा  आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइ थियो । 

प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका विकास कार्यक्रमको अनुगमन गर्दै उनले  अनुसन्धान केन्द्रले सीमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्राना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन्  ।  

अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइराला लगायत स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी  थिए । अनुसन्धान केन्द्रका  प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट विकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए।