जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बीआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग उनले बीआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए ।
‘आयोजना अनुदानमा दिइयो भने ठीक छ तर ऋणका रूपमा लिनु हुँदैन । यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौं,’ निधिले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताए । ‘ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ । यसमा बृहत् छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ,’ उनले भने ।
प्रतिक्रिया