संविधानभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेसले नै नेतृत्व लिनुपर्छ : नेता निधि

संविधानभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेसले नै नेतृत्व लिनुपर्छ : नेता निधि


धनुषा – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले ७ वटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।

महोतरीका कांग्रेसका चर्चित नेता सहिद स्व. शिवचन्द्र मिश्रको ८१औं जन्मजयन्तीको अवसरमा महोत्तरीको लोहरपट्टीमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेसले नै नेतृत्व लिन आवश्यक रहेको बताए ।

निधिले भने, ‘मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदैछ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।’

सर्वपक्षीय सर्वदलीय संघर्षपछि कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक प्रणाली सहितको संविधान पाइएको बताउँदै उनले स्व. शिवचन्द्र मिश्र सहिद दुर्गानन्द झा सहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेशमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरू स्मरण गराउँदै निधिले स्व. मिश्र लोहरपट्टी मात्र होइन, देशकै सपुत रहेको बताए । कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले नेता निधि भौतिक पूर्वाधारमन्त्री हुँदा महोत्तरीमा भएको सडक विकास विस्तारप्रति धन्यवाद दिएका थिए ।

लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टी सहितको क्षेत्रमा आँखाको बिरामी बढ्दै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधिलाई आग्रह गरे ।