काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्युहुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट नेपाल, बंगलादेश र चीन शोक सन्तप्त भएको बताउँदै उनले उद्धार र उपचारमा संलग्नहरुलाई धन्यवाद व्यक्त गरे ।

सो दुर्घटनामा ५१ जनाको निधन र २० जना घाइते भएका थिए । उनले घटनालगत्तै आफू स्थलगत अवलोकनमा गएको तथा बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमजोरी नहुनेमा आश्वस्त पारेको उल्लेख गर्दै घटनाबारे सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्ले जाचँबुझ आयोग गठन गरेको र सो आयोगबाट प्राप्त प्रतिवेदनपछि गर्नुपर्ने आवश्यक काम गरिने बताए ।
प्रयोगशालाको परीक्षण छिटो गरी आफन्तलाई छिटो शव हस्तान्तरण गर्न सरकार क्रियाशील रहेको पनि उनले बताए ।
विशेष प्रस्ताव पारित
प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको युएस बंगला एयर अवतरणका क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रुको निधन तथा २० जना घाइते भई उपचाररत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो ।
प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आजै १५ मिनेटपछि बस्ने बैठकमा हुनेछ ।
प्रतिक्रिया