बिमस्टेक शिखर सम्मेलन अबधीभर भेन्टिलेटरसहितको एम्बुलेन्सले पाहुनालाइ पछ्याउने

बिमस्टेक शिखर सम्मेलन अबधीभर भेन्टिलेटरसहितको एम्बुलेन्सले पाहुनालाइ पछ्याउने


काठमाडाैं– भदौ १४ र १५ गते नेपालमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाहरूलाई सरकारले विशेषज्ञ सहितको विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससँग समन्वय गरी भेन्टिलेटर सहितको ए ग्रेडका ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएकाे छ ।

मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिसकेकाे छ । विशिष्ट पाहुनाको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलनस्थल र बासस्थानमा स्वास्थ्य सुरक्षाका लागि भेन्टिलेटरसहितको एम्बुलेन्स र  स्वास्थ्यकर्मीको टोली तयारी अस्थामा राखिने स्वास्थ्य मन्त्रालयका हेल्थ इमर्जेन्सी एन्ड डिजास्टर म्यानेजमेन्ट युनिट प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।

प्रत्येक एम्बुलेन्समा मेडिकल अफिसरसहतिको ३ जनाको टोली रहने छन् । सम्मेलनका लागि आउने पाहुनाका लागि विमानस्थलदेखि सम्मेलनस्थलसम्म भेन्टिलेटरसहितका एम्बुलेन्सहरू परिचालन गरिने छ । ती एम्बुलेन्स सम्मेलन अवधिभर पाहुनाहरू रहेकै स्थानमा राखिने छन् ।

सम्मेलन हुने स्थान सोल्टी होटलमा जनरल फिजिसिय, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितको ८ जनाको टोली सम्मेलन अवधिभर आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहनेछन् ।