बिमस्टेक मन्त्रीस्तरीय बैठक जारी

बिमस्टेक मन्त्रीस्तरीय बैठक जारी


काठमाडाैं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १६ औं मन्त्रीस्तरीय बैठक मंगलबार बिहानबाट बसीरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा जारी बैठकमा सदस्य देशका परराष्ट्र-बाहृय मामिला-विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन बुधबारदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९ औं बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।

त्यसैगरी बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।

बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाहृय मामिला राज्यमन्त्री भी. के. सिंहले गर्नेछन् ।

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नेछन् । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।