प्रधानमन्त्रीको बैंकक भ्रमण निर्धारित मितिमै

प्रधानमन्त्रीको बैंकक भ्रमण निर्धारित मितिमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न बैंकक भ्रमण निर्धारित समयमै हुने भएको छ ।

थाइल्याण्डले आगामी ४ अप्रिलदेखि राजधानी बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) को छैटौं शिखर सम्मेलन आयोजना गर्दैछ ।

बिमिस्टेक सम्मेलनमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने योजना पनि रहेको छ । त्यसका लागि १९ चैत्रमा त्यसतर्फ प्रस्थान गर्ने र २२ चैत्रमा बिमिस्टेकको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बिमस्टेक स्थापना भएको हो । सन् १९९७ मा स्थापित बिमस्टेक दक्षिण र दक्षिणपूर्वी एसियाबीच क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण संस्था हो । यसमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी सात सदस्य राष्ट्रहरू छन् ।

यसअघि मंगलबार थाई परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण हुने जानकारी दिएको थियो ।

विज्ञप्तीमा थाइल्याण्डकी प्रधानमन्त्री पातोङटार्न सिनावात्राले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डललाई सरकारी निवासमा औपचारिक स्वागत गर्नुका साथै विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख छ ।

नेपाल र थाइल्याण्डबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता प्रधानमन्त्रीस्तरबाट थाइल्याण्डमा पहिलो औपचारिक भ्रमण हुन लागेको उल्लेख गर्दै यसलाई ऐतिहासिक भ्रमणको संज्ञा दिइएको छ ।

तर विमस्टेक सम्मेलन अघि म्यानमारलाई केन्द्र बनाएर शुक्रबार ७.७ म्याग्निच्युटको भूकम्प गएपछि म्यानमार र थाइल्याण्डको अवस्था नराम्रोसँग प्रभावित बनेको छ ।

यद्यपी थाइल्याण्डले बिमस्टेक शिखर सम्मेलन औपचारिक रूपमा स्थगित गरेको जनाएको छैन । तर बिमस्टेकको एक महत्वपूर्ण सदस्य म्यानमार र आयोजक राष्ट्र थाइल्यान्ड दुबै भूकम्पबाट प्रभावित भएकाले यसपटक निर्धारित मितिमा सम्मेलन हुनेमा सन्देह पनि उत्पन्न भएको छ ।

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले सम्मेलन स्थगित भएको सूचना थाइ सरकारले नदिएको बताउँदै सम्मेलन निर्धारित मितिमै हुने बताएका छन् । काठमाण्डुपाटीसँगको कुराकानीमा राजदूत वलीले छैटौं बिमिस्टेक सम्मेलन तय मितिमै हुने बताए ।

बिमस्टेक सम्मेलनमा सहभागिताका अतिरिक्त प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण औपचारिक हुने भएपछि दुबै मुलुकले सोही अनुसारको तयारी सुरु गरेको छ ।

दुबै पक्षले सांस्कृतिक, पर्यटन, कृषि लगायतका क्षेत्रमा कम्तिमा आधा दर्जन सम्झौता–सहमतिको तयारी समेत गरेको छ ।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागि हुँदैछन् । बैंककस्थित नेपाली दूतावासले नेपाल र भारतका प्रधानमन्त्रीबीच साइडलाइन भेटघाट मिलाउन पहल गरिरहेको छ ।

भारतका विदेश सचिव जयदीप मुजुमदारले बिमिस्टेक शिखर सम्मेलन स्थगित नहुने बताएका छन् । उनको भनाइ उद्धृत गर्र्दै भारतीय सञ्चार माध्यमहरूले सम्मेलन निर्धारित मितिमै हुने जनाएको छ ।

भूकम्पबाट थाइल्याण्डभन्दा बढी म्यानमार प्रभावित भएको छ । त्यहाँ एक हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसअघि भदौ १९ र २० गते सम्मेलन तय भएको थियो । तर थाइल्याण्डमा भएको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो ।