बिमस्टेकमा उठ्यो आतंकबाददेखि आर्थिक समृद्धिको विषय, कसले के भने ?

बिमस्टेकमा उठ्यो आतंकबाददेखि आर्थिक समृद्धिको विषय, कसले के भने ?


काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा शुरु भएको छ।

‘शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र’ भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रममा नेपाल सरकार एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार व्यक्त गरे।

‘दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गरे।

विश्वको कुल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उनले बिमस्टेकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताए।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गरे।

यस क्षेत्रका जनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्त गर्नु पर्ने विचार राख्दै उनले भने, ‘हामीले विमिस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले शहश्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणकालागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।’

आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै उनले भने, ‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवध्दता अपरिहार्य छ ।

बिमस्टेकलाई यसका कामहरुका आधारमा मूल्यांकन गरिने बताउँदै उनले भने, ‘सही नीति, संस्था र स्रोत–साधन अनि दृढ राजनीति इच्छा शक्तिले मात्र यसको सफलताको सुनिश्चिता कायम गर्न सक्नेछ ।’

सुरक्षाका लागि विशेष महत्व– मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्ने बताए।

‘भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो,’ उनले भने, ‘हामी सबै विकासशील देश हौँ, शान्ति र समृद्धि सबैको प्राथमिकता हो तर आजको अन्तसम्बन्धित विश्वमा यो काम एक्लैले गर्न सकिँदैन, सबैको साथ र सहयोग आवश्यक छ।’

व्यापार, अर्थतन्त्र, यातायात, डिजिटल र जनस्तरको सम्बन्धको सम्पर्क सञ्जालमा काम गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो ।

विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयास– शेख

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएकी छन्।

हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दिगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिइन्।

आतंकवादको नियन्त्रण जरुरी – वाङ्चुक

काठमाडौं– भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन्।

उनले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

उनले प्राकृतिक विपद्जस्ता समस्याबाट यस क्षेत्रका नागरिकलाई जोगाउनका लागि पनि समान लक्ष्यका साथ प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

वातावरण संरक्षणमा आफ्नो देशले प्रमुख ध्यान दिएको र ५१ प्रतिशत भन्दा बढी क्षेत्रमा वन क्षेत्र कायम गरेको जानकारी दिँदै वाङ्चुकले विपद्बाट जोगिन पनि सार्थक प्रयास गरेको स्पष्ट पारे।

शान्ति र स्थायित्वका लागि आतङ्कवादको नियन्त्रण जरुरी छ भन्दै वाङ्चुकले त्यसका लागि पनि सामूहिक प्रयासको आवश्यकता औँल्याए।