काठमाण्डु – अछामको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत अवस्थामा भेटिएसँगै विनायक क्षेत्र तनावग्रस्त बनेको छ । नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानका १६ वर्षीय विनोद शाही मृतफेला परेसँगै आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जन बहादुर शाहीको पुतला दहन गरेका हन् ।
किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने ,निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेको आन्दोलित आफन्तहरुको आरोप छ ।
नेपाली कांग्रेस समर्थकहरूले उनको हत्या गरेको भन्दै शनिवारदेखि आन्दोलन गर्दै आएका किशोरका आफन्तले मध्य पहाडी लोक मार्गमा चक्काजाम समेत कायम राखेका छन् ।
१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बलबहादुर शाहीको छोरा १७ वर्षीय बिनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका थिए ।
शव भेटिएसँगै नगरप्रमुख चलाउने सहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले विनायक बजारमा प्रदर्शन गर्दै नगर उप प्रमुख,प्रहरी प्रमुख निवर्तमान वडा अध्यक्ष,प्रहरी प्रमुख थपलिया सहित प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका छन् भने किटानी जाहेरी दर्ता गर्नुपर्ने माग राखेका छन् ।
माद्यामिक विद्यालय विनायकमा कक्षा १० मा अध्ययनरत किशोरको मृत्युको विषयलाई लिएर विनायकमा बिद्यार्थीहरुले समेत प्रदर्शन गरेका छन् ।
के हो घटनाको नालिबेली ?
हालै सम्मन स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबिच विवाद भएको थियो । विवादका क्रममा हालाहाल हुँदा दुवै पक्षका कार्यकर्ता घाइते भएका थिए । सोही घटनाका बिषयमा जेठ १७ गते पुनः दुवै पक्षबिच गाउँमा विवाद भएको थियो । दुवै पक्षबिच विवाद भएको खबरपछि प्रहरीको टोली गाउँ पुग्यो ।
विवादमा संलग्नहरूलाई नियन्त्रण गर्ने क्रममा स्थानीय महिला र प्रहरीबीच धरपकड भएको थियो । धरपकड भएकै बेला देखी विनोद बेपत्ता भए । बेपत्ता भएको ५ दिन पछि स्थानीय भीरमा उनको शव भेटिएसँगै उनका आफन्तले नेपाली काँग्रेसका समर्थक कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया